समाचार
ईलाका प्रशासन कार्यालय वालिङद्वारा नयाँ राहदानी आवेदन सङ्कलन स्थगित
रेडियो आँधीखोला
वालिङ, २३ असार ।
ईलाका प्रशासन कार्यालय, वालिङले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ राहदानी (पासपोर्ट) आवेदन सङ्कलन कार्य स्थगित गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै राहदानी विभागको निर्देशनअनुसार यो कदम चालेको जनाएको हो ।
राहदानी विभागले आगामी २०८३ असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ । उक्त नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनुअघि हालको मौजुदा प्रणालीमा बाँकी रहेका सम्पूर्ण आवेदनहरूको प्रक्रिया सम्पन्न गरी तथ्याङ्कहरू नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेट) गर्नुपर्ने भएको छ ।
सोही प्राविधिक कार्यका लागि राहदानी विभागबाट निर्देशन प्राप्त भए बमोजिम ईलाका प्रशासन कार्यालय वालिङले २०८३ असार २३ गते पश्चात् नयाँ राहदानीसम्बन्धी आवेदनहरू सङ्कलन नगर्ने निर्णय गरेको हो । कार्यालयका अधिकृत सरिता चापागाईं भारीद्वारा हस्ताक्षरित उक्त सूचनामा अर्को सूचना जारी नहुँदासम्म नयाँ आवेदन सङ्कलन नहुने व्यहोरा स्पष्ट पारिएको छ ।