समाचार
डिभिजन वन कार्यालय स्याङ्जाद्धारा यो वर्ष ३६ हजार ६२० विरुवा उत्पादन
रेडियो आँधीखोला,
वालिङ २४ असार ।
डिजिभन वन कार्यालय स्याङ्जाले यो वर्ष ३६ हजार ६२० बिरुवा उत्पादन गरेको छ । कार्यालयले उत्पादन गरेका विरुवा यहाँका पालिका, वडा, समूह, विद्यालय, कृषकहरुलाई प्रदान गर्दै आएको छ । कार्यालयले वर्षेनी असार साउन महिनामा बिरुवा वितरण गर्दै आएको छ । यो वर्ष उत्पादन गरिएको बिरुवा मध्य २२ हजार भन्दा धेरै वितरण गरिसकिएको सूचना अधिकारी एवं वन अधिकृत रुक्मागत सुवेदीले बताउनुभयो । कार्यालय तथा कार्यालय मातहतमा रहेका सव डिभिजन कार्यालयहरुले उक्त संख्यामा बिरुवा वितरण गरेका हुन् । यो वर्ष रैथाने प्रजातिका बिरुवाहरु कार्यालयले उत्पादन गरेको थियो ।
कार्यालयले डाले प्रजातिका, बहुउपयोगी, जडिबुटी तथा फलफूल, रैथाने प्रजातिका बिरुवा उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, æयो वर्ष हामीले रैथाने बिरुवा उत्पादन गरेका थियौँ । जडिबुटि तथा फलफूल जन्य, डाले, काठजन्य विरुवा उत्पादन गरेका थियौँ । असार १५ देखि बिरुवा वितरण शुरु गछौँ र भदौ दोस्रो हप्ता सम्म पनि वितरण गर्दै आएका छौँ ।Æ
गतवर्षको बाँकी १५ हजार बिरुवा समेत कार्यालयले वितरण गरिरहेको छ । कार्यालयबाट बिरुवाहरु निशुल्क वितरण हुँदै आएको छ । पालिका, वडा तथा समूहहरुले कार्यालयबाट ल्याएर आफुना नागरिकहरुलाई वितरण गर्दै आएका छन् । डाले घाँस अन्र्तगत राईखनियो, निमारो, बडहर, काठ प्रजातिअन्र्तगत चाँप, सौन्दर्यका लागि लगाईने कल्की, धुपी र कपूर, जडीबुटी तथा फलफूल अन्र्तगत निम, हर्रो, खयर, टिमू, लप्सी, अम्बा, अमलालगायतका विरुवा कार्यालयले वितरण गर्दै आएको छ । यो वर्षको अहिलेसम्म ७७१ जनाले हस्ताक्षर गरि बिरुवा लगेका छन् ।
पछिल्लो समय यहाँका राजमार्ग तथा सडक छेउछाउ हराभरा बनाउन समेत डिभिजन वन कार्यालयबाट बिरुवा लैजाने क्रम बढेको छ । त्यस्तै, विद्यालय परिसर र कार्यालय परिसरमा समेत जडीबुटिजन्य बिरुवा लगाउने क्रम बढेको छ । त्यस्तै, विभिन्न कृषक समुह, वडा तथा पालिका, संघसंस्था, आमा समुह/क्लबहरुले समेत वन कार्यालयबाट बिरुवा लगेका छन् । समुहबाहेक व्यक्तिगत र कृषि तथा पशुपालन गरेका कृषकहरुले पनि घाँसका बिरुवाहरु कार्यालयमा माग गरेर लैजाने गरेका छन् ।