समाचार
परम्परागत सिलाई कटाई व्यवसायीलाई आधुनिक मेशिन
रेडियो आँधीखोला,
वालिङ २५ असार ।
परम्परागत पेशालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ स्याङ्जाको वालिङमा प्रविधि उपकरण -मेशिन) हस्तान्तरण गरिएको छ । जिल्लाभरीबाट परम्परागत रुपमा सिलाई कटाई व्यवसाय गर्ने ३० जनाले प्रति व्यक्ति ३ लाख बराबरको मेसिन प्राप्त गरेका हुन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान -क्ष्भ्म्क्ष्), त्रिपुरेश्वर, काठमाडौँको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तथा दलित समुदायको परम्परागत कला तथा शिप विकास संस्थाको व्यवस्थापनमा भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम–२०८१ अन्तर्गत सो उपकरण वितरण गरिएको हो ।
दलित समुदायको परम्परागत कला तथा शिप विकास गर्ने लक्ष्य राखिएको यस कार्यक्रममा वालिङ नगर उपप्रमुख कबिता तिवारीले व्यवसायीहरूलाई मेशिनहरू हस्तान्तरण गर्नुभयो ।
परम्परागत रूपमा चल्दै आएका यस्ता सीपमूलक व्यवसायहरू नै स्थानीय अर्थतन्त्रका मेरुदण्ड भएको उपप्रमुख तिवारीले बताउनुभयो । प्रविधिको यो आधुनिक युगमा पुरानै तरिकाले मात्र काम गरेर बजारको मागसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले दलित समुदायको परम्परागत कला र शिल्पलाई जोगाउँदै उहाँहरूलाई आत्मनिर्भर बनाउन यो प्रविधि हस्तान्तरण गरिएको उहाँको भनाई छ । नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक र उद्यमशीलता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उपप्रमुख तिवारीले बताउनुभयो ।
कार्यक्रममा परम्परागत रूपमा सिलाई कटाई व्यवसाय गर्दै आएका २० जना व्यवसायीहरूलाई आधुनिक सिलाई मेशिन, टेस्टिङ मेशिन र काज बटन मेशिन वितरण गरिएको छ । आधुनिक मेशिनहरू पाएपछि व्यवसायीहरूको काममा सहजता आउने र उत्पादकत्व बढ्ने विश्वास लिइएको छ ।
औद्योगिक विकास कार्यालय -औद्योगिक व्यवसाय विकास प्रतिष्ठान) ले देशभरका कुल १४० जना परम्परागत व्यवसायीहरूलाई यस्ता आधुनिक मेशिनहरू प्रदान गरेको छ । जसमध्ये स्याङ्जामा सबैभन्दा धेरै ३० जना व्यवसायीहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन् । वालिङ नगरपालिकाका २० जना, गल्याङ र भीरकोटका ५/४ जना र पुतलीबजारका १ जना गरी ३० जनाले आधुनिक मेसिन प्राप्त गरेका छन् ।
प्रविधि उपकरण हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक य‘गमाया पंगेनी, दलित समुदायको परम्परागत कला तथा शिप विकास संस्थाका अध्यक्ष लिल बहादुर रनपाल र पूर्व कार्यपालिका सदस्य गीता रनपाल लगायतको विशेष उपस्थिति रहेको थियो ।