समाचार
आमा बहुउद्देश्यीय सहकारीद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २८ असार ।
स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना भएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ स्थित आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कालीगण्डकी कोरिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन एवं प्रवद्र्धन कार्यक्रम अन्तर्गत ९० प्रतिशत अनुदानमा आधारित भैँसीपालन कार्यक्रम सञ्चालन गर्न गोठ निर्माण तथा भकारो सुधार पूर्वाधारका लागि आवश्यक उपकरण तथा सामग्री खरिद सम्बन्धी विषयमा सहकारीले सभाहलमा सार्वजनिक सुनुवाइ आयोजना गरेको हो।
कार्यक्रमका प्रमुख गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराईले सहकारीहरू ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले सरकारी अनुदानको सही सदुपयोग गर्दै व्यावसायिक पशुपालनलाई विस्तार गर्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै किसानको आयआर्जनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। सहकारीले पारदर्शिता, जवाफदेहिता र सदस्यको विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै यस्ता सार्वजनिक सुनुवाइले संस्थाप्रति नागरिकको विश्वास अझ बलियो बनाउने धारणा राख्नुभयो।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ आमा सहकारीका सचीव ध्रुवराज पाण्डेले र भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय स्याङ्जाका शाखा अधिकृत नरेन्द्र राईले दिनुभएको थियो ।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले सहकारीले सञ्चालन गरिरहेका कार्यक्रम, अनुदान वितरण प्रक्रिया, पूर्वाधार निर्माण तथा आगामी योजनाबारे जिज्ञासा राखेका थिए। सहकारीका पदाधिकारीहरूले उठाइएका प्रश्नको जवाफ दिँदै संस्थाको कार्यप्रगति, आर्थिक पारदर्शिता र आगामी योजनाबारे जानकारी गराएका थिए। सहकारीका कृषि उपसमिति संयोजक चुरामणि पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा उपसमिति संयोजक तथा सहकारीका निवर्तमान उपाध्यक्ष पशुपति पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।