समाचार
वालिङ, उबा संघको महासचिवमा निर्वाचित कोषाध्यक्ष अर्याललाई बधाई
रेडियो आँधीखोला
वालिङ, २९ असार ।
आँधीखोला सञ्चार सहकारी संस्था तथा रेडियो आँधीखोला १०५.४ मेगाहर्जका कोषाध्यक्ष विमल अर्याललाई रेडियो परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । वालिङ उद्योग वाणिज्य संघको १९औं साधारणसभा तथा नवौं अधिवेशनबाट महासचिव पदमा निर्वाचित हुनुभएका अर्याललाई रेडियोमा आईतबार एक कार्यक्रमकाबीच बधाई तथा सम्मान व्यक्त गरिएको हो ।
रेडियोका अध्यक्ष शान्ता थापाले व्यापारीहरुको छाता संस्था वालिङ उद्योग वाणिज्य संघको महासचिव पदमा निर्वाचित हुनुभएकोमा अर्याललाई बधाई व्यक्त गर्दै व्यापारीको हकहितमा प्रतिवद्ध भई काम गर्न आग्रह गर्नुभयो । स्याङ्जाकै मध्य भागमा रहेको वालिङमा व्यापारीहरुको स्थायीत्व र उद्यमशीलतालाई प्रर्वद्धन गरी यहाँको व्यापार व्यवसाय विस्तार गरी फराकिलो बनाउनुपर्ने अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष तारा बहादुर श्रेष्ठ, सचिव हिमलाल पराजुली, सदस्यत्रय अमृत प्रसाद खनाल, ध्रुव पंगेनी, गोपाल जिटी एवम् स्टेशन म्यानेजर तोलाकान्त बगाले लगायत कर्मचारीको सहभागिता रहेको थियो ।