समाचार
वालिङ नगरपालिकाको २० औँ नगरसभाको तेस्रो बैठक
रेडियो आँधीखोला
वालिङ, २९ असार ।
स्याङ्जाको वालिङ नगरपालिकाको २० औँ नगरसभाको तेस्रो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ । नगर प्रमुख श्री कृष्ण खाँणको अध्यक्षतामा गत असार ७ गतेदेखि सुरु भएको नगरसभा असार २८ गते सम्पन्न भएको हो।
नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कुल ८९ करोड १ लाख ५९ हजार ७ सय ३६ रुपैयाँको वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
यस नगरसभाले स्थानीय तहको विकास र नियमनका लागि महत्वपूर्ण मानिएका चारवटा विधेयकहरू पारित गरेको छ। जसमा विनियोजन विधेयक, आर्थिक विधेयक, कर तथा गैर कर राजस्व प्रशासन सम्बन्धी विधेयकका साथै विशेष चासोका रूपमा हेरिएको गाँजा खेती सम्बन्धी नियमन गर्ने विधेयक समेत रहेको छ।
नगर प्रवक्ता पदमराज गुरुङका अनुसार सभाले लेखा समिति र न्यायिक समितिको प्रतिवेदनलाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ ।