समाचार
साउने सोमबार तथा एकादशीमा छाङछाङदीमा महाआरती हुने
रेडियो आँधीखोला,
वालिङ २९ असार ।
साउने सोमबार तथा हरिशयनि एकादशीका अवसरमा छाङछाङदी मन्दिरमा महाआरती हुने भएको छ । छायाँक्षेत्र छाङछाङदी मन्दिर व्यस्थापन समितिले भक्तजनहरुको चाहानालाई मध्यनजर गर्दै हरेक सोमबार साँझ र एकादशीको साँझमा मन्दिरमा महाआरती गर्ने भएको हो । महाआरतीमा भक्तजनहरु प्रत्यक्ष सहभागि भएर श्रवण गर्न सक्नुहुनेछ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक शोभकान्त पौडेलका अनुसार आफ्ना दिवंगत पितृहरुको नाममा, जन्मदिन, विवाहउत्सव तथा अन्य विषेश अवसरमा पनि भक्तजनहरुले महाआरती गर्न सक्ने व्यवस्था गरिएको छ ।
भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ ।
यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । मन्दिर परिसरमा निर्मार्णाधिन १०८ शिवलिंग र १०८ गौमुख धारा निर्माणमा समेत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने आजिवन सदस्य बन्न ७ हजार ५०० शुल्क कायम गरिएको छ ।