समाचार
साउन महिना भगवान शिवको महिना, भक्तजनले गरे छाङछाङदी मन्दिरमा दर्शन
रेडियो आँधीखोला,
वालिङ १ साउन ।
स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउने सक्रान्तीका अवसरमा भक्तजनले मन्दिर दर्शन तथा पूजापाठ गरेका छन् । विषेश गरी साउने सक्रान्तीदेखि साउन महिनाभर भगवान शिवको पूजाआरधना तथा भक्तिभाव गर्नाले समृद्धि प्राप्त गरिने धार्मिक विश्वासका साथ साउन महिना भर चाखो भोजन ग्रहण गरी हरेक सोमबार शिवको आरधाना गर्ने गरिन्छ । सोमबारको ब्रत आरम्भ समेत यहि महिनाबाट शुरु हुने भएकाले भक्तजनहरु आजदेखि साउन महिनाभर शाकाहारी भोजन ग्रहण गर्ने गर्छन् ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले पनि साउने सङ्क्रान्ति मनाउने प्राचीन परम्परा पनि छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ ।
सक्रान्तीको अवसरमा मन्दिरमा दानपेटिकाबाट ४ हजार ४५०, मूल मन्दिर तथा भजन मण्डलीबाट १८ हजार ३८, व्यापारिक स्टलबाट ७२ हजार र सहयोग रसिदबाट ४ हजार ९० रुपैँया संकलन भएको छ । संकलित रकम मन्दिरको खातामा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन उपसमितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो । यसरी मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
साउन महिना भगवान शिवको प्रिय महिना भएकाले पनि साउन महिना विषेश रहेकाले मन्दिरमा महाआरतीको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । साउनको हरेक सोमबार र हरिशयनी एकादशीका अवसरमा मन्दिरमा महाआरतीको आयोजना गरिएको उहाँले बताउनुभयो । बेलुका ७ बजेबाट हुने महाआरतीमा भक्तजनहरुले आफ्नो विषेश अवसर तथा पितृहरुको सम्झनामा पनि महाआरती गराउन सक्नेछन् ।
भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ ।
यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । मन्दिर परिसरमा निर्मार्णाधिन १०८ शिवलिंग र १०८ गौमुख धारा निर्माणमा समेत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने आजिवन सदस्य बन्न ७ हजार ५०० शुल्क कायम गरिएको छ ।