समाचार
स्याङ्जामा असार महिनामा मात्रै २७ मुद्दा दर्ता, २१ प्रतिवादी पक्राउ
रेडियो आँधीखोला
वालिङ, ३ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले असार महिनामा सम्पादित कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा, लागूऔषध बरामद तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यप्रगतिको विवरण सार्वजानिक गरेको हो ।
प्रहरीका अनुसार असार महिनामा कुल २७ वटा मुद्दा दर्ता भएका छन् । जसमा जघन्य तथा गम्भीर अपराध सम्बन्धी ३ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ६ वटा, आर्थिक अपराधको १ र अन्य १७ वटा मुद्दा रहेका छन । यी मुद्दाका २१ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
यस्तै, फैसला कार्यान्वयनतर्फ वर्षौंदेखि फरार रहेका चोरी मुद्दाका २, लागूऔषधका १, सार्वजनिक अपराधका २, बहुविवाहका १ र लेनदेन मुद्दाका १ गरी ७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ । उनीहरूबाट अदालतले तोकेको १ वर्ष ३ महिना २६ दिन कैद र ३ लाख २८ हजार रुपैयाँ जरिवाना असुल गराइएको छ ।
असार महिनामा प्रहरीले नियन्त्रित लागूऔषध समेत बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका–१ राम्दीमा बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख. १९५२ नम्बरको बस चेकजाँच गर्ने क्रममा पोखराका ४० वर्षीय नरेन्द्र आचार्य र ३४ वर्षीय सुरज प्याकुरेलको साथबाट ब्युप्रिनोर्फिन ३१ एम्पुल, फेनार्गन ३० एम्पुल र डायाजेपाम २९ एम्पुल फेला परेको थियो । उनीहरूलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
वर्षायामको सुरुवाती महिना भएकाले असारमा बाढीपहिरोका २०, आगलागीका २, चट्याङको १ र अन्य २ गरी कुल २५ वटा विपद्का घटनाहरू घटेका छन्। बाढीपहिरो र आगलागीमा परी १–१ जनाको मृत्यु भएको छ । यी घटनाहरूमा २ सय ३५ भन्दा बढी प्रहरी कर्मचारी परिचालन भई २० वटा बाढीपहिरो र २ वटा आगलागीका घटनामा प्रत्यक्ष उद्धार कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेश दत्त अवस्थीले बताउनुभयो ।
यस्तै, असार महिनामा २ वटा सवारी दुर्घटना भएका छन्, जसमा ब्रेक फेल तथा पाटपुर्जामा समस्या आएर दुर्घटना भएको पाइएको छ । सवारी नियम उल्लंघन गर्ने १ हजार ४ सय ९२ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । प्रहरीले भन्सार छलि गरी ल्याएका २ लाख २ हजार ९९४ रुपैँया बराबरको मोटर पार्टसका सामानहरु बरामद गरेको छ ।
प्रहरीले समाजमा हुने अपराध न्यूनीकरणका लागि समुदाय तथा विद्यालय केन्द्रित विभिन्न १४८ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । जसमा २ हजार ७ सय ४ जना सर्वसाधारण तथा विद्यार्थीहरू सहभागी भएका थिए। सबैभन्दा बढी लागूऔषध सचेतनासम्बन्धी ८६ वटा कार्यक्रमहरू गरिएका थिए ।
यसका साथै, स्याङ्जा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षा र सडक सुरक्षाको जानकारी दिन प्रहरीले लिखित (नेपाली÷अंग्रेजी) र अडियो साउण्ड सहितको ’त्तच् कोड’ तयार गरी प्रचलनमा ल्याएको छ।
कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो र पारदर्शी सेवा दिन ’युवामैत्री नागरिक सहायता कक्ष’ स्थापना गरिएको र असार महिनामा मात्रै १ हजार ६ जना सेवाग्राहीले सेवा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।