समाचार
स्याङ्जामा भारी वर्षाको जोखिमः रातिको समयमा सवारी आवागमनमा पूर्ण रोक
रेडियो आँधीखोला
वालिङ, ३ साउन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दुई दिन रातिमा सवारी नचलाउन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौँको निर्देशनानुसार जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार र आईतबार भारी तथा अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको छ । आम सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यसका साथै सिद्धार्थ राजमार्ग बाहेकका अन्य सहायक वा शाखा सडकहरूमा समेत अत्यावश्यक बाहेकका सवारी साधनहरू चलाउन पूर्ण प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक यातायात लगायतका कुनै पनि सवारी साधनहरू (अत्यावश्यक बाहेक) बाहेक रातिको समयमा संचालन नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ । जोखिमयुक्त स्थानहरूमा बसोबास गरिरहेका बासिन्दाहरूलाई उक्त स्थान तत्काल छोडी सुरक्षित स्थलमा जान भनिएको छ ।यदि अत्यावश्यक रूपमा सवारी सञ्चालन गर्नै परेमा नजिकको सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सुरक्षा निर्देशकहरूको पालना गर्नुपर्नेछ।