अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मुक्तिनाथ कृषि कम्पनीद्वारा स्याङ्जाका अगुवा कृषकसँग अन्तरक्रिया

news

 
वालिङ, ७ साउन । 
स्याङ्जामा सुन्तला खेतीमा आधारित एकीकृत मूल्य शृङ्खला विकासका चुनौती र सम्भावनाबारे अन्तरक्रिया गरिएको छ । मुक्तिनाथ कृषि कम्पनीले कृषि योजनाको प्रस्तुति सहित जिल्लाका अगुवा कृषकसँग पुतलीबजारमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा सहभागी कृषकहरुले सस्तो मूल्यका अस्वस्थ बिरुवा वितरण हुँदा किसान मर्कामा परेको भन्दै स्वस्थ बिरुवाको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
 
यस्तै, स्थानीय तहसँग समन्वय, उत्पादित सुन्तलाको बजारीकरण, भण्डारण तथा ग्रेडिङ प्रविधिमा लगानी र किसानलाई सरल तथा सहज प्रक्रियाबाट लगानीको व्यवस्था गर्नुपर्ने धारणा कृषकहरुले राखेका छन् । कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी निर्देशक भरतराज ढकालले कम्पनीका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।
 
उहाँले चालु आर्थिक वर्षदेखि बिना धितो किसानलाई लगानी गर्ने योजना रहेको जानकारी दिनुभयो । सुन्तला किसानसँगै पशुपालक किसानलाई पनि समेट्ने, जिल्लामा कृषि परामर्श केन्द्रको शाखा स्थापना गर्ने तथा किसानमैत्री सहुलियत कर्जा कार्यक्रम सञ्चालन गर्ने कम्पनीको योजना रहेको उहाँले बताउनुभयो ।
 
कम्पनीले सुन्तला किसानले उत्पादन गरेर बिक्री गर्न थालेपछि तथा दुग्ध उत्पादक किसानले गाईभैंसी ब्याएर दूध बिक्री गर्न थालेपछि मात्र सहुलियत कर्जाको किस्ता बुझाउने व्यवस्था गर्ने योजना समेत अघि सारेको छ । कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, स्याङ्जाका तर्फबाट एनआईएमबी बैंकका वरिष्ठ कृषि अधिकृत अजय अधिकारी
ले जिल्लामा सुन्तला खेतीको विस्तार र उत्पादनबारे जानकारी गराउनुभएको थियो ।
 
उहाँका अनुसार स्याङ्जामा २०७३ सालमा करिब ७ सय हेक्टर क्षेत्रफलबाट सुरु भएको सुन्तला खेती हरेक वर्ष एक सय हेक्टरभन्दा बढीका दरले विस्तार हुँदै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा थप ९३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार भएसँगै जिल्लामा अहिले करिब २५ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार भएको छ ।
 
स्याङ्जाका किसानले प्रतिहेक्टर ९ टनभन्दा बढी सुन्तला उत्पादन गर्न सफल भएका छन् । आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाबाट १ अर्ब रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको जानकारी कार्यक्रममा दिइएको छ । यस्तै, जिल्लामा सञ्चालित सुन्तला नर्सरीबाट करिब २ लाख बिरुवा उत्पादन गरी बाहिरी जिल्लामा समेत बिरुवा निकासी गर्न सफल भएको बताइएको छ ।
 
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका ३०५ जना सेवाग्राही तथा १० देखि १२ हजार किसान आबद्ध रहेको जानकारी दिइएको थियो । गत आर्थिक वर्षमा किसान प्रोत्साहनका लागि ७ करोड रुपैयाँ बजेट आएकोमा आर्थिक वर्ष २०८३÷०८४ मा भने सरकारले उक्त शीर्षकमा ४ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको जानकारी पनि कार्यक्रममा दिइएको छ । यस्तै, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतप्रसाद लम्सालले मुक्तिनाथ कृषि कम्पनी बैंकको एसोसिएट कम्पनी भएको बताउँदै स्थानीय उत्पादनको विकासका लागि कृषि क्षेत्रमा लगानी र सहजीकरण गर्दै आएको जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...