समाचार
पुष्पलाल स्मृति दिवसमा रक्तदान ८२ पिन्ट रगत सङ्कलन
रेडियो आँधीखोला
वालिङ, ८ साउन ।
राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी स्याङ्जाले ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान दान जीवन दान, जीवन दान महादान’ भन्ने नाराका साथ जिल्ला सदरमुकाम पुतलीबजारमा आयोजित कार्यक्रममा ८२ जनाले ८२ पिन्ट रगत दान गरेका छन् ।
कार्यक्रममा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलबाट रक्तदानको सुरु गरिएको थियो । कार्यक्रममा महिला तथा पुरुष गरी ८२ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता, राष्ट्रिय युवा संघका पदाधिकारी तथा सदस्यहरू र सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले राष्ट्रिय युवा संघ नेपालले विगतदेखि नै कमरेड पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा सामाजिक सेवाका विभिन्न कार्यक्रम गर्दै आएको बताए । शाहले रक्तदानजस्तो मानवीय सेवाको कार्यक्रमलाई संघले निरन्तर प्राथमिकता दिँदै आएको औंल्याए ।
‘कुनै पनि बिरामीले रगतको अभावमा छटपटिन नपरोस् भन्ने उद्देश्यले रक्तदानलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘रक्तदानले प्रत्यक्ष रूपमा कसैको जीवन बचाउन सहयोग गर्छ । त्यसैले युवाहरू सामाजिक सेवामा अझ सक्रिय हुनुपर्छ ।’
सामाजिक परिवर्तनमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शाहले युवाशक्ति समाज निर्माणको प्रमुख आधार भएको बताए । उनले पुष्पलालको विचार र योगदानलाई स्मरण गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा युवा संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
‘आज हामीले दिएको रगत भोलि कसैको जीवन बचाउने आधार बन्न सक्छ । त्यसैले रक्तदानलाई नियमित सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्छ,’ सहभागीहरूको भनाइ थियो । कार्यक्रममा संकलित रगत जिल्ला अस्पतालमा भण्डारण गरिने आयोजकले जनाएको छ । रक्तदान कार्यक्रम सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो ।