समाचार
विद्युत महसुलमा लगाईएको करले नागरिकमा नैराश्यता छाएको छ ः वालिङ उवा संघ
रेडियो आँधीखोला
वालिङ, १० साउन ।
बुटवल पावर कम्पनी लिमिटेडले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (VAT) लगाउने निर्णय गरेपछि वालिङ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराउँदै उक्त कर तत्काल फिर्ता लिन माग गरेको छ ।
कम्पनीले यही साउन १ गतेदेखि लागू हुने गरी घरायसी प्रयोजनका लागि ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सूचना प्रकाशित गरेपछि संघले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
संघका अध्यक्ष अनुपमा ढुंगाना र महासचिव विमल अर्यालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विभिन्न कारणले शिथिल बनेको व्यावसायिक क्षेत्रमा विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि करले संकटमाथि संकट थपिदिएको छ । यस निर्णयले आम उपभोक्ताहरूमा सन्त्रास र निराशा छाएको छ।”
विज्ञप्तिमा आँधीखोला जलविद्युत आयोजना स्थापना कालदेखि नै यस क्षेत्रका प्रभावित जनताले यसलाई आफ्नै अपनत्व र गौरवको आयोजना ठानी सहुलियतपूर्ण दरमा विद्युत उपयोग गर्न पाउने अपेक्षा राख्दै आएको उल्लेख छ । स्थानीय बासिन्दाको मुआब्जा बिना जग्गा प्रयोग गरिएको, उत्पादन लागत कम रहेको र कम्पनीले वर्षेनि मुनाफा बढाउँदै लगे पनि प्रभावित क्षेत्रका बासिन्दालाई उचित शेयरको व्यवस्था नगरेको भन्दै कम्पनीको हालको निर्णयप्रति नागरिक आक्रोश बढ्न सक्ने चेतावनी दिइएको छ ।
विद्युत अत्यावश्यक सेवा भएकाले महसुल र कर वृद्धि हुँदा आम नागरिकको दैनिक जीवनयापन तथा वस्तुको उत्पादन लागतमा प्रत्यक्ष नकारात्मक असर पर्ने संघको ठहर छ । नेपाल जस्तो जलस्रोतको धनी राष्ट्रमा सहुलियत दरमा विद्युत उपभोग गर्न पाउनुपर्ने आम नागरिकको अधिकार भएको भन्दै संघले सरकारसँग भ्याट तत्काल फिर्ता लिन र बुटवल पावर कम्पनीसँग प्रभावित क्षेत्रका उपभोक्ताहरूलाई कर नलगाइ सहुलियत दरमै विद्युत उपलब्ध गराउन जोड्दार माग गरेको छ ।