समाचार
हरिशयनी एकादशीका अवसरमा १ लाख ७२ हजार ७५ रुपैँया भेटि संकलन
रेडियो आँधीखोला
वालिङ, १० साउन ।
स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा हरिशयनी एकादशीका अवसरमा १ लाख ७२ हजार ७५ रुपैँया भेटि संकलन भएको छ । तुलसी रोप्ने एकादशीका अवसरमा शनिबार मन्दिर दर्शन तथा स्नानका लागि भक्तजनहरुको विहानैदेखि भिड लागेको थियो ।
बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलबाट उम्रिएको तुलसी शनिबार विधिपुर्वक रोपण गरी चार महिनासम्म विशेष पूजा आराधना गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । एक वर्षमा २४ एकादशी पर्छन्। अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् ।
हरिशयनी एकादशीका अवसरमा सहयोग रसिदबाट ३१ ह्जार ५३५, आजिवन सदस्यताबाट २२ हजार ६६०, स्टल विक्रिबाट ५ हजार ७००, गौमुख धाराबाट १५ हजार, सिक्का सटहीबाट २ हजार, दानपेटिकाबाट ३३ हजार ३
७०, मुल मन्दिर तथा भजन मण्डलीबाट ६१ ह्जार ८१० गरी कुल १ लाख ७२ हजार ७५ रुपैैँया भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो ।
साउन महिनाको हरेक सोमबार र हरिशयनी एकादशीका अवसरमा महाआरती गर्ने कार्यक्रम अनुसार आज बेलुका ७ बजेबाट महाआरती तथा भजनकृतन गरिनेछ । आफ्ना दिवंगतको सम्झनामा मन्दिरमा महाआरती गराउने व्यवस्था गरिएको छ भने जन्मदिन तथा अन्य विषेश अवसरमा भक्तजनहरुको महाआरती गराउने इच्छा भएमा मन्दिर व्यवस्थापन समितिलाई सम्र्पक गर्न सक्ने जनाईएको छ ।
यसरी विभिन्न पर्वहरुमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ ।