अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

फेदीखोलामा कोदो दिवस, बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी ३ हजार अनुदान

news

 
रेडियो आँधीखोला
वालिङ, १७ साउन । 
स्याङ्जाको फेदीखोला गाउँपालिकाले रैथाने बालीको संरक्षण र उत्पादन वृद्धिलाई जोड दिँदै दोस्रो ’कोदो दिवस’ मनाएको छ । गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलसहितको टोलीले बहाँटारीस्थित स्थानीय कृषकको बारीमै पुगेर कोदोको बीउ हस्तान्तरण गर्नुका साथै रोपाइँमा सहभागी भई दिवस मनाएको हो।
दिवसका अवसरमा आयोजित कार्यक्रममा स्थानीय रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि र यसको पोषणयुक्त महत्वका विषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले रैथाने बालीको प्रवद्र्धनका लागि गाउँपालिकाले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहांका अनुसार गाउँपालिकाभित्रका सबै विद्यालयहरूमा हप्ताको एक दिन कोदोबाट बनेका विविध परिकारलाई खाजाको रूपमा उपलब्ध गराइँदै आइएको छ । साथै, नयाँ पुस्तालाई यसको महत्वबारे बुझाउन कक्षा ६ को स्थानीय पाठ्यक्रममा कोदोको उपयोगितासम्बन्धी पाठ्यसामग्री नै समावेश गरिएको बताउनुभयो । 
कृषकहरूलाई कोदो खेतीतर्फ आकर्षित गर्न गाउँपालिकाले आकर्षक अनुदानको व्यवस्था गरेको छ । बाझो जमिनमा कोदो खेती गर्ने कृषकलाई प्रतिरोपनी ३ हजार रुपैयाँ नगद अनुदानको व्यवस्था पालिकाले गरेको छ भने प्राङ्गारिक खेती र परम्परागत प्रविधिलाई प्रोत्साहन गर्न हलगोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान दिँदै आएको छ । त्यस्तै कोदो खेतिलाई सहज बनाउन कृषकका लागि कोदो चुट्ने मेसिन खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । 
कुनै समय ’गरिबको खाना’ वा ढिँडोका रूपमा मात्र हेरिने कोदोको परिचय अहिले फेरिएको छ । कोदोमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम, आइरन, प्रोटिन तथा विभिन्न खनिज तत्त्व पाइने भएकाले आजभोलि स्वास्थ्यप्रति सचेत सबै वर्गका मानिसहरूले यसलाई चासो र रुचिका साथ उपभोग गर्न थालेका छन्।
सो अवसरमा स्थानीय कृषक तथा महिला समूहहरूले कोदोको पीठोबाट बनेका १४ प्रकारका स्वादिष्ट खाजाहरू तयार पारेर पाहुनाहरूलाई खुवाएका थिए । जसमा कोदोको सेलरोटी, पुरी, मःम, केक, खुर्मा, तावा रोटी, सुप, कोदोको अचार, खोले लगायतका विविध आधुनिक तथा परम्परागत परिकारहरू समावेश थिए। गाउँपालिकाको यो पहलले ओझेलमा पर्दै गएको रैथाने बालीको संरक्षण हुनुका साथै कृषकहरूको आयआर्जन र स्वास्थ्य सुधारमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...