समाचार
विश्व शान्तिका लागि विशाल बोलबम यात्रा
रेडियो आँधीखोला,
वालिङ १७ साउन ।
विश्व शान्तिका लागि विशाल बोलबम यात्रा वालिङबाट शुरु भएको छ । वालिङ बोलबम समितिको आयोजनामा सोलुखुम्बुको दुधकुण्ड सम्मको यात्रा वालिङबाट शुरु गरेको हो । बोलबम समितिको यो धार्मिक यात्रा २३औँ हो । यसअघि बोलबम समितिले विभिन्न जिल्लाका प्रसिद्ध धार्मिक यात्रा गरेको थियो भने विपदमा समेत बोलबम समितिले राहत तथा सहयोग गर्ने गरेको छ ।
बोलबम टोलीको सुरक्षित तथा सफल यात्राको शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा पुर्व मन्त्री सरस्वति अर्यालतिवारी, वालिङ नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगानातिवारी, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापालगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।
बोलबम यात्राको यो धार्मिक यात्राले स्याङ्जाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न समेत महत्वपुर्ण भुमिका खेल्ने उहाँहरुले बताउनुभयो । समितिले आईतबार वालिङ ९ का माँझि समुदायका मृगौला पिडितलाई ५ हजार रुपैँया सहयोग गरेको छ । वालिङ उद्योग वाणिज्य संघले बोलबम टोलीलाई पिउनेपानी सहयोग गरेको छ । टोलीले छाङछाङदीको जल लिएर सोलुखुम्बु प्रस्थान गरेको समितिका अध्यक्ष दिपेन्द्र तिवारीले बताउनुभयो । यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थानहरुको समेत प्रचारप्रसार गर्दै धार्मिक पर्यटकलाई स्याङजा भित्राउन पनि बोलबम यात्राले सहयोग गर्ने अध्यक्ष तिवारीले बताउनुभयो ।
सोलुखुम्बु जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दुधकुण्डमा जनै पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने भएको छ । समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा रहेको दुधकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिन्छ । दुधकुण्डमा स्नान गरेपछि सन्तान नहुनेले सन्तान प्राप्त गर्ने र रोगहरू नष्ट हुने जनविश्वास रहँदै आएको छ ।