समाचार
धिमेको तालमा स्याङ्जा गुञ्जियो, संस्कृतिको संरक्षणमा पुतलीबजारको साथ
वालिङ, १९ साउन ।
मौलिक (नेवारी) धिमे बाजा र परम्परागत नृत्य संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ नेवाः देय दबु जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा सञ्चालित धिमे बाजा तथा नृत्य तालिम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको सहयोगमा आयोजित समापन समारोहमा भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षणप्रति स्थानीय तह र समुदायको साझा प्रतिबद्धतालाई थप सुदृढ वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले नेपाली समाज विभिन्न मौलिक परम्परा र संस्कृतिले भरिएको अनुपम उपहार भएको बताउनुभयो । विभिन्न जातजातिको आ–आफ्नौ परम्परा र मौलिकता रहेको भन्दै ति मौलिकतालाई जिवन्त राख्न नगरपालिकाले यो तालिमका लागि सहयोग गरेको उपप्रमुख अर्यालले बताउनुभयो ।
कार्यक्रममा नेवाः देय दबु गण्डकी प्रदेश अध्यक्ष मथुरा राज श्रेष्ठ, कास्की अध्यक्ष लालकुमार श्रेष्ठ, पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष ओम शर्मा, वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, वेदप्रसाद दोराङ्गा, सुरज अधिकारी, अनन्तकुमार श्रेष्ठ, शंकरध्वज कार्की, सीता गोदार, किशोर श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
तालिमका प्रशिक्षक चन्द्रमान मुनिकारलाई सम्मान गरिएको थियो भने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । अध्यक्ष हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा वरिष्ठ उपाध्यक्ष संघ ताम्राकारले स्वागत मन्तव्य र सचिव विष्णुकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
धिमेको प्रत्येक तालले संगीतसंगै, इतिहास, सभ्यता र पहिचानलाई पनि जीवन्त बनाउने भन्दै यस्ता तालिमले नयाँ पुस्तालाई आफ्नो मौलिक जरोसँग जोड्नुका साथै “विविधतामा एकता“ भन्ने नेपालको राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । समापन पुर्व धिमे बाजाले नगर परिक्रमा गरेको थियो ।