अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पतञ्जली योग समितिद्वारा बृहत् रक्तदान तथा जडीबुटी वृक्षारोपण, ७० जनाले गरे रक्तदान

news

 
रेडियो आँधीखोला
वालिङ, २० साउन । 
आचार्य श्री बालकृष्णजी महाराजको ५४औँ जन्मोत्सव तथा जडीबुटी दिवसका अवसरमा स्याङ्जाको वालिङमा बृहत् रक्तदान तथा जडीबुटी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
‘आयुर्वेद र प्रकृतिको संरक्षण गरौँ, स्वस्थ शरीर, स्वच्छ समाज र हरियाली भविष्य निर्माण गरौँ’ भन्ने उद्घोषका साथ पतञ्जली योगपीठ वालिङ परिसरमा पतञ्जली योग समिति वालिङले बृहत् रक्तदान तथा जडीबुटी वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् भने पतञ्जली योगपीठ परिसरमा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपण गरिएको छ। रक्तदान र वृक्षारोपणलाई एकसाथ जोडेर मानव स्वास्थ्य, सामाजिक सेवा, वातावरण संरक्षण तथा आयुर्वेदको प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरप्रमुख कृष्ण खाँणले ५८औँ पटक रक्तदान गर्दै नियमित रक्तदानले मानवीय सेवाको भावना अभिवृद्धि गर्नुका साथै आकस्मिक अवस्थामा बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने बताए ।
‘रक्तदान जीवनदान हो । स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आफ्नो स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्नुका साथै आवश्यकतामा रहेका बिरामीले नयाँ जीवन पाउँछन्,’ नगरप्रमुख खाँणले भन्नुभयो, ‘मानव सेवा र सामाजिक उत्तरदायित्वका दृष्टिले रक्तदान अत्यन्तै पुण्य र महत्वपूर्ण कार्य हो ।’
उनले पछिल्लो समय वातावरणीय असन्तुलन, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको ह्रास चुनौतीका रूपमा देखापरेकाले वृक्षारोपण तथा जडीबुटी संरक्षणमा सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनुभयो । स्थानीय स्तरमा पाइने जडीबुटीको संरक्षण, उत्पादन र प्रवद्र्धनमार्फत स्वास्थ्य तथा आर्थिक विकासमा समेत योगदान पु¥याउन सकिने उहाँको भनाइ थियो ।
‘आयुर्वेद र प्रकृतिसँग हाम्रो जीवन प्रत्यक्ष रूपमा जोडिएको छ,’ उहाँले भन्नुभयो, ‘जडीबुटीको संरक्षण र प्रवद्र्धन गर्दै हरियाली वातावरण निर्माण गर्न सके स्वस्थ समाज र समृद्ध भविष्यको आधार तयार हुन्छ ।’
पतञ्जली योग समितिका उपाध्यक्ष तथा बृहत् रक्तदान कार्यक्रमका संयोजक विष्णुप्रताप खाँणले प्रमुख अतिथि नगरप्रमुख खाँणलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।
कार्यक्रममा पतञ्जलीसँग आबद्ध व्यक्तिहरू, युवा, समाजसेवी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले प्राविधिक सहयोग गरेको थियो । आयोजकले रक्तदान तथा जडीबुटी वृक्षारोपणजस्ता सामाजिक, स्वास्थ्य र वातावरणमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...