समाचार
अब किसानको घरबाटै बजारसम्म तरकारी, वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
रेडियो आँधीखोला
वालिङ, २० साउन ।
वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । वालिङ नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै किसानको उत्पादन घर–आँगनबाटै संकलन गरी बजारसम्म पु¥याउने व्यवस्था सुरु भएको हो ।
वालिङ नगरपालिका, दियालो संस्था तथा वालिङ कृषि विकास परियोजना (हेफर इन्टरनेसनल नेपाल) को साझेदारीमा ३२ लाख ९० हजार रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो। यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार र परियोजनाले १४ लाख रुपैयाँ व्यहोरेका छन् ।प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार यो सेवा कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो ।
“कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने यो सेवा किसानमैत्री कार्यक्रम हो। अब किसानले उत्पादन बिक्रीका लागि ढुवानीको चिन्ता गर्नुपर्ने अवस्था रहने छैन,”ज्ञवालीले बताउनुभयो । हाल सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै तरकारी उठाइने भएकाले ढुवानी खर्च घट्ने, समय बचत हुने र उत्पादन ताजा अवस्थामै बजारमा पुग्ने अपेक्षा गरिएको छ ।
सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गर्नुभयो । अर्याल भन्नुहुन्छ ,“पहिले ढुवानी नहुँदा धेरै तरकारी कुहिन्थ्यो, बजारसम्म पु¥याउन कठिन हुन्थ्यो । अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी पठाउन सक्ने अवस्था बनेको छ ।”
वालिङ नगरपालिकाले उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको ११ महिनामा मात्रै ७ लाख ९१ हजार ३ सय ४२ रुपैयाँ नगद अनुदान किसानलाई वितरण गरिएको थियो । सहकारीका प्रवन्धक युवराज रेग्मीका अनुसार गत वर्ष १ लाख ५८ हजार २ सय ६८ केजी तरकारी सहकारीमार्फत संकलन भएको थियो । “कृषि एम्बुलेन्सले एकै पटक करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्छ । यसले ढुवानी लागत घटाउने मात्र होइन, किसानलाई व्यावसायिक खेतीतर्फ अझ आकर्षित गर्नेछ ।”
कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला सुदृढ हुने नगरपालिकाको विश्वास छ । यसले विशेषगरी साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार गर्दै आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।