समाचार
वालिङमा खाद्य साक्षरता कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २० साउन ।
स्याङ्जाको वालिङमा बुधबार खाद्य साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुक्तिनाथ कृषि कम्पनी तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई लक्षित गरी अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी पोखराका प्रमुख नरेन्द्रराज पौडेलले मुक्तिनाथ कृषि कम्पनी र वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाबीच कृषिसम्बन्धीका विविध गतिविधिहरु अगाडि बढाउने विषयमा सम्झौता भई अगाडि बढेको बताउँदै यसलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष ले. यामबहादुर गुरुङले हामीले दैनिक जीवनमा उपभोग गर्ने खाद्यान्नहरु कस्ता छन् र त्यसलाई अझै स्वास्थ्यका दृष्टिले व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने विषयमा खाद्य साक्षरता अन्तर्गत बुझ्ने मौका सिंगो सहकारीका सदस्यहरुलाई उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा सहकारी संस्थाका सचिव भुपराज बगाले, लेखा समिति संयोजक नेत्रप्रसाद पराजुली, खाद्य विशेषज्ञ पूजा भण्डारी, कृषि प्राविधिक मदन कडेल, देबकुमारी श्रेष्ठलगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा सहकारीमा आवद्ध झण्डै ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा खाद्य विशेषज्ञ पूजा भण्डारीले सहजीकरण गर्नुभएको थियो ।