अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित

news

 
वालिङ, २२ साउन । 
सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट स्याङ्जाका पत्रकार गोपालबहादुर जिटी  र कास्कीका पत्रकार खेम सारु मगर सम्मानित हुनुभएको छ । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय जिटी र सारुलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५÷२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो ।
कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले जिल्ला प्रशासन र पत्रकार एकआपसमा जोडिएको बताउनुभयो । जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा सम्मानित व्यक्ति जिटीले पत्रिका वितरकको रुपमा काम गर्दागर्दै पत्रकारिता क्षेत्रमा जोडिदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ्ने प्रोत्साहन मिलेको बताउनुभयो । त्यस्तै पत्रकार खेम सारु मगरले जीवनको आधा समय पत्रकारिता क्षेत्रमा व्यतित गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताउनुभयो । 
 
कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजूले स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूका विषयमा जानकारी गराउनुभएको थियो । त्यस्तै गण्डकी प्रदेश फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित प्रतिभा परिचय दिनुभएको थियो । 
सम्मानित  पत्रकार सारु विगत ३ दशक यता कास्कीको पोखरा तथा जिटी स्याङ्जामा विगत २ दशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएको छ । 
 
यसभन्दा अगाडि यो पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केवी राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरका कमला राना मगर र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसक्नुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...