समाचार
धन्सार भत्किंदा चौपायाको मृत्यु
वालिङ, २२ साउन ।
स्याङ्जामा आज बिहान धन्सार भत्किंदा तीनवटा चौपाया पुरिएर मरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका १३ हल्लेखोलामा सागर थापाको ढुंगा माटोले बनेको टिनले छाएको दुई तले धन्सार भत्किंदा एउटा भैंसी र दुई वटा पाडो पुरिएर मरेका हुन् ।
चार वटा भैंसी र दुई वटा पाडो रहेको उक्त धन्सार आज बिहान ५ बजे भत्किएको हो । धन्सारमा रहेका अन्य तीन वटा भैंसी भने सकुशल रहेका सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो ।