समाचार
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
वालिङ, २४ साउन ।
स्याङ्जा जिल्लाका फलफूल तथा पशुपालन व्यवसायमा संलग्न कृषकले गत आर्थिक वर्ष २०८२÷८३ मा दुई करोड ३३ लाख ४३ हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली, अदुवा–बेसार र भैँसी जोनअन्तर्गत आबद्ध कृषकलाई विभिन्न शीर्षकमा उक्त रकम वितरण गरिएको हो । कार्यालयका अनुसार अनुदानबाट ५८ सहकारी, ९० कृषक समूह, २८५ उद्यमी कृषक, चार कम्पनी र दुई प्राविधिक विद्यालयमार्फत करिब पाँच हजार कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार उन्नत प्रविधि विस्तार तथा खेतीको क्षेत्रफल बढाउन ४९ लाख २७ हजार रुपैयाँ, कृषिमा उद्यमशीलता विकासका लागि ४३ लाख ७४ हजार रुपैयाँ तथा सिँचाइ पूर्वाधार निर्माणका लागि ४० लाख ५२ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।
यस्तै कृषि यान्त्रीकरणका लागि २७ लाख रुपैयाँ तथा बगैँचा सुदृढीकरण र बाली संरक्षणका सामग्री वितरणका लागि २१ लाख रुपैयाँ खर्च गरिएको छ । भैँसी प्रवद्र्धन तथा मासु निर्यात कार्यक्रमअन्तर्गत ११ लाख ९१ हजार रुपैयाँ बराबरका पाडापाडी वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी साइलो बंकर निर्माणमा १० लाख ६३ हजार रुपैयाँ, गोठ सुधारमा नौ लाख ३७ हजार रुपैयाँ, दाना बनाउने मेसिन खरिदमा सात लाख रुपैयाँ तथा कृषि उपजको लेबलिङ र प्याकेजिङका लागि सात लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । नर्सरी स्रोत केन्द्र स्थापना गर्न छ लाख रुपैयाँ, शिक्षालयसँग व्यावसायिक उत्पादन साझेदारी कार्यक्रम सञ्चालनका लागि चार लाख ८१ हजार रुपैयाँ तथा दूध प्रशोधन सामग्री खरिदका लागि एक लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।
साना सिँचाइ आयोजनाका लागि ९८ हजार रुपैयाँ, घाँसको बीउ खरिदमा ७३ हजार रुपैयाँ तथा चैते धानको क्षेत्रफल विस्तार गर्न २२ हजार रुपैयाँ अनुदान वितरण गरिएको कार्यालयकी सूचना अधिकारी तथा कृषि अधिकृत प्रतिभा बुढाथोकी क्षेत्रीले बताउनुभयो ।
गत आर्थिक वर्ष सुन्तलामा ९३ हेक्टर, आँप–लिचीमा १० हेक्टर, कफीमा सात हेक्टर र अदुवा–बेसारमा पाँच हेक्टर गरी कुल १४५ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य लिइएको थियो । तीमध्ये ११५ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्न सफल भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।