समाचार
अधिकार, पहिचान र संस्कृतिको संरक्षणमा एकजुट हुन आदिवासी जनजातिलाई आग्रह
रेडियो आँधीखोला,
वालिङ २४ साउन ।
स्याङ्जाका आदिवासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी ३२ औँ विश्व आदिवासी दिवस–२०८३ मनाएका छन् । तमु ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिको आयोजनामा रामबाच्छास्थित तमु समाज भवनमा चियापान तथा शुभकामना आदानप्रदानसहित दिवस मनाइएको हो ।
कार्यक्रममा जिल्लामा रहेका गुरुङ, मगर, भुजेललगायत विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा अगुवाहरुको सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, मौलिक भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षणसँगै आफ्ना अधिकारका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य नरबहादुर गुरुङले आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणका लागि समुदायभित्रैबाट एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभया । उहांले संविधानले दिएको अधिकारको प्रभावकारी कार्यान्वयनसँगै आदिवासी जनजातिका भाषा, संस्कृति, परम्परा र मौलिक पहिचान जोगाउन नयाँ पुस्तालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरुले आदिवासी जनजातिको मौलिक संस्कृति पछिल्लो समय आधुनिकीकरण र बढ्दो सांस्कृतिक प्रभावका कारण सङ्कटमा पर्दै गएको भन्दै संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको बताएका थिए ।
आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकारको सम्मान र संरक्षण गर्दै उनीहरुको पहिचानलाई राज्यको मूलधारमा स्थापित गर्ने उद्देश्यले प्रत्येक वर्ष विश्व आदिवासी दिवस मनाउदै आइएको छ ।
तमु ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिको आयोजनामा भएको कार्यक्रमको व्यवस्थापन तमु समाज रामबाच्छाले गरेको थियो ।