समाचार
स्याङ्जामा ९८ प्रतिशत रोपाइँ
वालिङ, २७ साउन ।
स्याङ्जामा ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । धान रोपाइँ हुने क्षेत्रफलमध्ये साउन अन्तिम आईपुग्दा ९७.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ । कृषि विकास कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा कृषि अधिकृत नारायणप्रसाद पाठकका अनुसार यस वर्ष जिल्लामा धान रोपाइँ हुने क्षेत्रफल १३ हजार ६८५ हेक्टर रहेको छ ।
बढ्दो सहरीकरण, सडक विस्तार र घरघडेरी निर्माणका कारण खेतीयोग्य जमिन घट्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । त्यसको प्रत्यक्ष असर धान रोपाइँ हुने क्षेत्रफलमा परेको छ भने वर्षेनी धान खेती हुने जमिन क्रमशः खुम्चिँदै गएको कार्यालयको निष्कर्ष छ । आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा धान खेति हुने क्षेत्रफल १४ हजार ३९० रहेको थियो । युवाशक्ति पलायन हुनु, खेतियोग्य जमिनमा घर निर्माण हुनुलगायतका कारणले धान खेति हुने क्षेत्रफल घट्दो क्रममा रहेको छ । यो वर्ष समयमै पर्याप्त वर्षा भएका कारण धान रोपाइँको प्रतिशत राम्रो रहेको अधिकृत पाठकले बताउनुभयो ।
असार साउनमा राम्रो वर्षा भएका कारण धानका बिरुवाले राम्ररी जरा, हाँगा हाल्न सजिलो भएकाले अहिलेसम्मको अवस्थाले यो पटक धान उत्पादन राम्रो हुने देखिएको छ । मौसम अनुकुल भएका कारण धानखेति राम्रो हुने देखिएको हो । पछिल्लो समय कृषकहरु हाईब्रिड जातका धानखेतिमा आर्कषित हुन थालेका छन् । उत्पादन धेरै हुने कारण हाईब्रिड जातका धान कृषकको रोजाईमा परेको हो । स्थानीय र उन्नत जातको धानको तुलनामा हाईब्रिड धानमा उत्पादन धेरै हुन्छ । रोगकिरा, प्रतिकूल मौसमसंग जुध्ने क्षमता कम भएपछि उत्पादन धेरै हुने भएकाले कृषकको रोजाई हाईब्रिड तर्फ बढी देखिएको छ ।
स्याङ्जाका चापाकोट टार, जिमुहा, पकान, डौँवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबास तथा आँधीखोला, ज्याग्दीखोला र दरौँखोला आसपासका क्षेत्र जिल्लाका प्रमुख धान उत्पादन पकेट मानिन्छन् । यहाँ उन्नत जातका खुमल ४, राधा ४, साँवा मन्सुलीलगायतका जात र हाईब्रिड युएस ३१२, गोरखनाथ, एरिराइज ६४४४, पिएचबि ७१ जस्ता जातका धानहरु कृषकको रोजाईमा परेका हुन् । जिल्लामा सामान्य धानका ब्याडहरु र खनेर रोप्ने साना सुर्काहरु बाहेक धान खेति हुने क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ ।