समाचार
वालिङ नगरपालिकाको न्यायिक समितिबाट ७३ मुद्दा छिन्नोफानो
रेडियो आँधीखोला
वालिङ, २९ साउन ।
वालिङ नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म दर्ता भएका कुल १०१ मुद्दामध्ये ७३ वटा मुद्दाको निरुपण (फछ्र्यौट) गरेको छ । बाँकी २८ वटा मुद्दा हाल प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
आज भएको वडास्तरीय मेलमिलाप केन्द्रका संयोजकहरुसंग छलफलका क्रममा बोल्दै नगर उपप्रमुख एवं न्यायिक समितिकी संयोजक कविता तिवारीले न्यायिक समितिले न्याय सम्पादन गर्दा मेलमिलापको नीतिलाई मुख्य आधार बनाएको बताउनुभयो । मेलमिलाप प्रक्रियाले समाजमा तिक्तता बढाउनुको सट्टा आपसी समझदारी कायम गराउने उल्लेख गर्दै उहाँले यसबाट दुवै पक्षको जित हुने र न्यायको अपनत्व सबैले महसुस गर्ने धारणा व्यक्त गर्नुभयो ।
“न्यायिक समिति मेलमिलापको नीतिसहित अगाडि बढेको छ। मेलमिलाप पद्धतिका माध्यमबाट विवाद निरुपण गर्दा कसैको हार न भई दुवै पक्षको जित हुन्छ, जसले समाजमा भाइचारा र शान्ति स्थापित गर्न मद्दत पु¥याउँछ।” उपप्रमुख तिवारीले भन्नुभयो ।
न्यायिक समितिमा दर्ता हुन आएका विवादहरूमध्ये मुख्यगरी जग्गा सम्बन्धी विवाद, लेनदेन सम्बन्धी विवाद र श्रीमान्–श्रीमती बीचको सम्बन्ध तथा पारिवारिक समस्या रहेका छन्।
नगरपालिकाले नागरिकहरूलाई वडा तहबाटै सहज र निष्पक्ष न्याय दिलाउन स्थानीय मेलमिलापकर्ताहरूलाई प्रोत्साहन एवं क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । वडाका मेलमिलाप संयोजकहरूलाई कार्यसम्पादनमा सहजताका लागि मासिक रु. २,५००÷– यातायात तथा सञ्चार खर्च बापत उपलब्ध गराइएको छ ।
नगरपालिकामा रहेका १०१ जना मेलमिलापकर्ताहरूलाई कोट र ब्याच वितरण गरी वडा–वडामै सहज न्यायिक पहुँच र सम्मानजनक वातावरण निर्माण गरिएको छ । स्थानीय तहमा सानातिना विवाद मेलमिलापको माध्यमबाट समाधान हुँदा अदालतसम्म पुग्नुपर्ने बाध्यता घटेको छ भने नागरिकहरूले आफ्नै गाउँ–ठाउँमा सरल र छरितो न्याय पाउन थालेका छन्। छलफलमा प्रत्येक वडामा परेका निवेदनहरु, मेलमिलाप गराईएका विवाद र आगामी दिनमा न्यायिक प्रक्रियालाई अझ सहज र जनमुखी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएकोे थियो । कार्यक्रममा अधिवक्ता नेत्रप्रसाद सुवेदी, वडाका मेलमिलाप संयोजकहरुको सहभागिता रहेको थियो ।