समाचार
स्याङ्जा प्रहरीद्वारा साउन महिनाको प्रगति विवरण सार्वजनिकः २१ अपराध दर्ता, १३ प्रतिवादी पक्राउ
रेडियो आँधीखोला,
वालिङ ३१ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २०८३ साल साउन महिनाभर भएका अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा प्रहरी कारबाहीको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । साउन २९ गतेसम्म जिल्लामा कुल २१ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५ वटा फछ्र्यौट भइसकेका छन् भने १६ वटा बाँकी छन ।
विभिन्न मुद्दामा संलग्न १३ जना प्रतिवादी पक्राउ परेका छन् । दर्ता भएका मुख्य मुद्दाहरूमा भवितव्य ज्यान -४), झुण्डी मृत्यु -४), अभद्र व्यवहार -४), जबरजस्ती करणी -३), सवारी ज्यान -१), लागूऔषध -१), बालयौन दुरूपयोग -१), साधारण चोरी -१), फुटकर ज्यान -१) र बैंकिङ कसूर -१) रहेका छन्।अदालतको फैसला कार्यान्वयनतर्फ फरार रहेका प्रतिवादीहरूबाट १३ वटा मुद्दामा १ महिना कैद र कुल २३ हजार ४२० रुपैँया जरिवाना असुल/कार्यान्वयन गरिएको छ ।
साउन महिनामा ४ जनाले आत्महत्या -सबै झुण्डिएर) गरेका छन् भने ३ जनाले आत्महत्याको प्रयास गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ उजुरी परेका ४ मध्ये ३ वटा मिलापत्र गराइएको छ । हराएका १४ जनामध्ये ८ जना फेला पारिएको छ भने ६ जना अझै फेला पर्न बाँकी छन्।
साउन महिनामा कुल ७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १ जनाको मृत्यु, ३ जना गम्भीर घाइते र ६ जना सामान्य घाइते भएका छन्। स्याङ्जा वालिङस्थित अकलादेवी मन्दिरको दानपेटिका चोरीमा संलग्न २ जनालाई पक्राउ गरी अदालतको आदेशानुसार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । साथै, मानव बेचबिखन मुद्दामा फरार रहेका १ जना पक्राउ परेका छन्।
लागूऔषध र अवैध हातहतियारतर्फ बुप्रिनुर्फिन, डाइजेपाम र फेनरागनसहित १ जना पक्राउ परेका छन् भने विरुवा गाउँपालिका–५ को जंगलबाट १ थान भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाभर ११६ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी २५९१ जना नागरिकलाई लाभान्वित गराइएको छ ।
अवैध बालुवा ओसारपसारमा संलग्न ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिई जरिवाना गराइएको र १८० लिटर अवैध घरेलु मदिरा तथा १७९० वटा गाँजाका बोटहरू नष्ट गरिएको छ । प्रहरीले उजुरी दर्ता, अनुसन्धान र कानूनी कारवाहीलाई छिटो, निष्पक्ष र पारदर्शी बनाउँदै पीडितमैत्री सेवा प्रवाहमा जोड दिएको जनाएको छ ।