अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अरौदीखोलाको कवजेमा आवातजावातमा रोक

news

 
 
रेडियो आँधीखोला,
वालिङ ३१ साउन ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ नारायणस्थान हुँदै वडा नं. ३ पुतलीखेततर्फ जोड्ने अरौंदी खोलाको कजवेमा आजदेखि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । बर्खासँगै खोलामा पानीको बहाव बढ्दा विगतमा मोटरसाइकल तथा मानिस बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कजवे बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार जारी गरेको सूचनामा अरौंदी खोलाको कजवेबाट आवतजावत गर्दा विगतमा मोटरसाइकल तथा मानिस बगेर क्षति भएको र आगामी दिनमा समेत जनधनको क्षति हुनसक्ने संवेदनशीलतालाई ध्यानमा राख्दै दुवैतर्फको आवागमन रोकिएको जनाएको छ । प्रशासनले कजवे बन्द गरिएको स्थानबाट जबर्जस्ती आवतजावत गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार पछिल्लो समय लगातार वर्षा भइरहेकाले अरौंदी खोलामा पानीको बहाव बढेको छ । कजवेबाट आवतजावत गर्दा जोखिम बढ्ने भएकाले मानवीय क्षति रोक्न तत्कालका लागि आवागमन बन्द गरिएको हो ।उनका अनुसार खोलाको बहाव सामान्य नभएसम्म जोखिम मोलेर कजवे पार नगर्न स्थानीयवासी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ । प्रशासनले अवस्थाको निरन्तर निगरानी गर्ने र परिस्थितिअनुसार थप निर्णय गर्ने जनाएको छ ।
अरौंदी खोलामा दुई दिनअघि पुतलीबजार नगरपालिका–३ बाडखोला निवासी २१ वर्षीय सलिम मगरलाई मोटरसाइकलसहित बगाएको थियो । दुई वर्षअघि पनि पुतलीबजार क्षेत्रमा आफन्तलाई भेट्न पुगेका भीरकोट नगरपालिका–४ छाङ्छाङ्दीका ४० वर्षीय सुरेश श्रेष्ठ स्कुटरसहित सम्पर्कविहीन भएका थिए । खोजीका क्रममा उनको शव पुतलीबजार–१३ गौरीजाँगरस्थित आँधीखोलाको किनारमा फेला परेको थियो । त्यतिबेला समेत श्रेष्ठ अरौंदी खोला तर्ने क्रममा स्कुटरसहित बगेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको थियो । यसरी हेर्दा अरौंदी खोलाको कजवेमा वर्षायाममा पानीको बहाव बढ्दा जोखिम उत्पन्न हुने घटना पटक–पटक दोहोरिएको देखिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...