अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पावर लिफ्टिङ च्याम्पियनसिपमा विकास र विपना बने ओभरल च्याम्पियन

news

 
‎वालिङ, ७ भदौ ।
‘बलियो युवा, बलियो समाज’ भन्ने नाराका साथ स्याङ्जाको वालिङमा आयोजित पहिलो जिल्ला स्तरीय पावर लिफ्टिङ च्याम्पियनसिप प्रतियोगिता शनिबार  सम्पन्न भएको छ । वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा वालिङ सिटी हल (भुपु टोल) मा आयोजित प्रतियोगितामा पुरुषतर्फ विकास गुरुङ र महिलातर्फ विपना रसाइली सर्वोत्कृष्ट ठहरिँदै ‘ग्रान्ड ओभरल च्याम्पियन’ बनेका छन्।
‎ स्क्वाट, बेन्च प्रेस र डेड लिफ्ट गरि तिन विधामा गराइएको प्रतिस्पर्धामा पुरुष ८० केजीभन्दा कम तौल समूहमा कुल ३१५.३ केजी भार उचाल्दै प्रथम भएका विकास गुरुङ पुरुषतर्फको ग्रान्ड ओभरल च्याम्पियन बन्न सफल हुनुभयो । सोही समूहमा २९७.२ केजी भारका साथ राजिन गुरुङ द्वितीय र २८८.३ केजी भार उचालेर भिम नारायण बराल तृतीय हुनुभयो ।
‎यसैगरि महिला खुल्ला तौल समूहमा कुल २४३.७ केजी भार उचाल्दै प्रथम स्थान हासिल गरेकी विपना रसाइली महिलातर्फको ग्रान्ड ओभरल च्याम्पियन बन्नुभयो । महिलातर्फ १७३.९ केजी भारका साथ करुणा श्रेष्ठ द्वितीय र १७०.८ केजी भार उचाल्दै मौसमी राना तृतीय स्थानमा हुनुभएको छ ।
‎पुरुष ६० केजीभन्दा कम तौल समूहमा ३१०.९ केजी भारका साथ जीव राना प्रथम, ३०६.६ केजी भारका साथ दर्भिन गुरुङ द्वितीय र २५४ केजी भारका साथ नविन गुरुङ तृतीय हुनुभयो । त्यस्तै, पुरुष ८० केजीभन्दा माथिको तौल समूहमा २९०.१ केजी भार उचालेर कोसिस परियार प्रथम, २७१.५ केजी भारका साथ मनबहादुर थापा द्वितीय र २३३.६ केजी भारका साथ अमर सारु तृतीय हुन सफल हुनुभयो ।
‎विभिन्न विधा तथा समूहमा उत्कृष्ट हुने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीले रु. २० हजार, द्वितीयले रु. १० हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीले रु. ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । ओभरअल च्याम्पियन बनेका विकास र विपनालाई विशेष ट्रफी र अवार्ड प्रदान गरिएको थियो ।
पावर लिफ्टिङ खेलप्रति युवा तथा महिलाहरूको आकर्षण बढाउन, स्थानीय प्रतिभावान खेलाडीको पहिचान र क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । 
युवाहरूमा बढ्दै गएको डिजिटल लत र अस्वस्थ जीवनशैलीलाई न्यूनीकरण गर्दै खेलकुद मार्फत अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न प्रतियोगिता सफल भएको आयोजकले जानकारी दिनुका साथै यस प्रतियोगिताले स्याङ्जामा पावर लिफ्टिङ खेलको संस्थागत विकासका लागि नयाँ आधार तयार गरेको आयोजकको विश्वास छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...