समाचार
स्याङ्जाको आँधीखोलाले भन्यो, तिज प्रतियोगिता हुँदैन, वालिङले विपदमा सहयोग र सहकार्य गर्ने
रेडियो आँधीखोला,
वालिङ ११ भदौ ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाले यस वर्ष तिज गित प्रतियोगिता कार्यक्रम नगर्ने भएको छ । देशमा विषम परिस्थिति सृजना भएको भन्दै प्रतियोगितामा हुने खर्च राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । हालैको प्राकृतिक विपद् -बाढी तथा हिउँपहिरो) बाट पुगेको ठूलो जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पालिकाले यस्तो निर्णय गरेको हो ।
साथै पालिका बासीलाई आफ्नो क्षमताले गर्न सक्ने सहयोग सरकारको प्रधानमन्त्री दैवि उद्धार कोषमा जम्मा गर्न गाउँपालिका अध्यक्ष विश्वनाथ पौडलद्धारा जारी गरिएको विज्ञप्ति मार्फत अपिल गरेको छ । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढी पश्चात पालिकाका केहि नागरिक अझै पनि सम्पर्कमा नआएको र अन्य कोहि व्यक्ति परिवारको सम्पर्कमा आउनुभएको छैन भने पालिकामा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ ।
यस्तै वालिङ नगरपालिकाले पनि रसुवा बाढीप्रति दुःख व्यक्त गर्दै समवेदना तथा शोक वक्तव्य जारी गरेका छन्। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवाका साथै नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरू प्रभावित भएका भन्दै विपद्बाट भएको क्षतिप्रति वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ, पुनःस्थापना र बेपत्ताहरूको सकुशल फिर्तीको कामना गरिएको छ । साथै, नगरपालिकाले राहत तथा उद्धार कार्यमा आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।