समाचार
भुम्रेमा मौलिक परम्पराको जगेर्नाः ऐतिहासिक पृष्ठभूमि, गाईजात्रा, रोपाइँ जात्रा र लाखे नाचको रौनक
रेडियो आँधीखोला
वालिङ, १३ भदौ ।
नेवारी संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यका साथ नेवा समाज भुम्रेको आयोजनामा वालिङ बजार क्षेत्रमा सांस्कृतिक झाँकीसहित लाखे नाच तथा विभिन्न जात्राको आरम्भ भएको छ । नागपञ्चमीका दिनदेखि प्रस्तुत हुँदै आएको मौलिक लाखे नाचलाई शुक्रबार विशेष रूपमा वालिङ बजार परिक्रमा गराइएको छ ।
नेवा समाज भुम्रेले आफ्नो मौलिक परम्परा जोगाउन यो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताउनुभयो । समाजका अनुसार शुक्रबार परम्परागत गाईजात्रा र शनिबार रोपाइँ जात्रा र आईतबार बाघ जात्रा प्रर्दशन गर्नेे तयारी छ ।
नेवार समुदायमा जात्रा र पर्वहरूको इतिहास मध्यकाल र राजा–महाराजाहरूको पालासँग जोडिएको छ । प्राचिन कालमा उपत्यकामा मानव र दैत्य (लाखे) बीचको सम्बन्धबाट यो नाचको सुरुवात भएको मानिन्छ । पछि मल्ल राजा गुणकामदेवले काठमाडौँ नगर बसाल्दा बस्तीको सुरक्षा र रोगव्याधिबाट बचाउन लाखे नाचको परम्परा बसालेका किंवदन्ती पाइन्छ ।
१६औँ शताब्दीमा मल्ल राजा प्रताप मल्लले कान्छा छोरा चक्रवर्तेन्द्रको असामयिक निधनपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन यो जात्रा सुरु गराएको मानिन्छ । संसारमा अरुको प्रियजनको मृत्यु हुने गर्छ भन्ने देखाउन उहांले जनतालाई आफ्नो घरबाट मृतका नाममा गाई वा मानिसलाई गाईजस्तै सिँगारेर झाँकी निकाल्न आदेश दिएको मानिन्छ ।
वर्षायाममा धान रोपाइँको कडा परिश्रमपछि किसानहरूलाई थकान मेटाउन, मनोरञ्जन दिन र श्रमको खुसीयाली साटासाट गर्न मल्लकालमै रोपाइँ जात्राको सुरुवात भएको मानिन्छ ।