समाचार
चापाकोटका वडा अध्यक्षमाथि युवाले मोबिल छ्यापे, नेकपा एमालेद्धारा घटनामा दोषीलाई कारबाहीको माग
रेडियो आँधीखोला
वालिङ, १७ भदौ ।
स्याङ्जाको चापाकोट न.पा. वडा नम्बर १ को वडा अध्यक्ष भुपराज ओस्ती माथि मोबिल छ्याप्ने व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । अध्यक्ष ओस्ती शरिरमा मोविल छ्यापेको, घटनास्थलमा प्रहरी पुगी मोविल छ्याप्ने व्यक्तिहरूको पहिचान तथा खोजतलास गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसो अध्यक्ष ओस्तीमाथि वडा कार्यालय परिसरमै असन्तुष्ट समूहले मोबिल छ्यापेका थिए ।
अध्यक्ष वस्तीले आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट विनियोजनमा गाँउ, बस्ती र टोल भेला नगराई सार्वजनिक महत्वका विषयमा एकलौटी कार्य गरी नगर कार्यपालिकामा योजनाहरू पेस गरेको आरोप छ । यसैबीच उक्त घटना प्रति नेकपा एमाले स्याङ्जा जिल्ला कमिटिले निन्दा गरेका छे । जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा वडा अध्यक्ष ओस्ती दैनिक सेवाका लागि कार्यालय जाँदै गर्दा कार्यकक्षकै अगाडि जम्मा भएर बसेका ४, ५ जनाको समूहले आक्रमण गरेको जनाएको छ ।
उक्त समूहका नेतृत्व गरेका सन्तोष राना, सन्तोष थापा र मुक्तबहादुर थापाले अध्यक्ष ओस्तीलाई पटक पटक मुक्का प्रहार कुटपिट गरी प्रज्वलनशिल पदार्थ पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका विज्ञप्तिमा उल्लेख छ । हाल अध्यक्ष ओस्ती उपचारको क्रममा रहनुभएको उल्लेख गरिएको छ । दिनदहाडै जनप्रतिनिधि माथि गरिएको यस्तो क्रियाकलाप गरी आतंक मच्चाउने राना र थापालगायत घटनामा संलग्नलाई यथासिघ्र नियन्त्रणमा लिई कानुनी कारबाही गर्न प्रहरी र प्रशासनलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर र प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिमाथि यस प्रकारको व्यवहार गर्ने जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।