अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चापाकोट वडा अध्यक्षमाथिको घटनालाई लिएर राजनीति नगर्न नेपाली काङ्ग्रेसको आग्रह

 
वालिङ, १९ भदौ । 
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. १ का निर्वाचित वडा अध्यक्ष भूपराज वोस्तीमाथि भएको भनिएको घटनामा नेपाली काङ्ग्रेस पार्टी र तरुण दलका युवाहरूको नाम जोडिएकोप्रति नेपाली काङ्ग्रेस चापाकोट नगरपालिका–१ वडा समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वडा समितिका सभापति कृष्णप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा घटनाको वास्तविक तथ्य बंग्याएर राजनीतिक रूप रंग दिन खोजिएको भन्दै आपत्ति प्रकट गरिएको छ।
वडाबासी नागरिकहरूको पटक–पटकको छलफल र गुनासोपछि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इलाका प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाको रोहबरमा वडा भेला गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । सोही सहमति अनुसार वडा अध्यक्ष स्वयंले सामाजिक सञ्जालमार्फत वडा भेलाको सूचना जारी गरे तापनि कार्यान्वयन नगरेको र नागरिकहरूको प्रश्नमा झर्को मानेर गैरजिम्मेवार जवाफ दिएको काङ्ग्रेसको आरोप छ । 
विद्यालय क्षेत्रको बाटो मर्मतको सामान्य विषयलाई लिएर भएका घटनालाई नेकपा एमाले नगर र जिल्ला कमिटिले विज्ञप्ति मार्फत कपोलकल्पित, अतिरञ्जित र राजनीतिक पूर्वाग्रह प्रेरित बनाइएको काङ्ग्रेसको ठहर छ। काङ्ग्रेसका अनुसार यसअघि नै ४ जना वडा सदस्यहरूको हस्ताक्षरसहित समस्या समाधानका लागि निवेदन दिइएको र पटक–पटक छलफल भए पनि वडा अध्यक्षले समस्या समाधानको बाटो नअँगालेको दाबी गरिएको छ ।
वडा अध्यक्ष र सदस्यहरूबीचको विषयलाई अनावश्यक रूपमा राजनीतिक दलहरूसँग नजोड्न, नागरिकको सूचनाको हकलाई नलत्याउन र सामाजिक सद्भावमा असर पर्ने गरी घटनालाई अतिरञ्जिन नगर्न काङ्ग्रेसले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। साथै, आगामी दिनमा यस्ता विषयलाई संवाद, छलफल र कानुनी प्रक्रियामार्फत समाधान गर्दै वडामा शान्ति, सद्भाव र सुशासन कायम गर्न काङ्ग्रेसले अपिल गरेको छ। 
 
यहि भदौ १६ गते वडा अध्यक्ष ओस्ती माथि मोबिल छ्याप्ने घटना भएको थियो । उक्त घटना पछि नेकपा एमालेले अध्यक्ष माथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै घटनाको दोषीलाई कारबाहीको माग गरेको थियो । त्यसपश्चात भदौ १७ गते प्रहरीले सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...