समाचार
बाढी प्रभावितका लागि स्याङ्जाबाट राहत जाने क्रम जारी
वालिङ, २३ भदौ ।
भोटेकाषी बाढी प्रभावितहरुका लागि स्याङ्जाबाट राहत जाने क्रम जारी रहेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठुलो जनधनको क्षति भएको छ । उक्त बाढी प्रभावित सहयोगार्थ स्याङ्जाका विभिन्न संघसंस्था तथा सहयोगी दाताहरुले सहयोग गरिहेका छन् ।
यसैक्रममा नजिकिँदै गरेको तिजको दर खाने कार्यक्रम स्थगित गरी महिला समूहहरुले पनि प्रधानमन्त्री दैवि उद्धार कोषमा रकम जम्मा गरेका छन् । यसैक्रममा हुलाक मार्ग महिला समूह वालिङ १० ले प्रधानमन्त्री राहत कोषमा ३९ हजार ४०० रकम जम्मा गरेको जनाएका छन् ।
त्यस्तै वालिङ १४ चालिसोका नवदुर्गा आमा समूहले पनि तिजको कार्यक्रम स्थगित गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका छन् । समूहले २१ ह्जार प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । त्यस्तै स्याङ्जा चेम्बर अफ कमर्सले ७५ हजार ५५५, स्याङ्जा निर्माण व्यवसायी संघले १ लाख ११ हजार १११, पुतलीबजारका जयन्तबहादुर कामीले १० हजार, राधाकृष्ण आमा समूह पुतलीबजार ३ ले २७ हजार ७०७, जनजागृति आमा समूह पुतलीबजार १४ ले ५० हजार, प्रगतिशिल टोल विकास संस्था पुतलीबजार १३ ले १० हजार रकम प्रधानमन्त्री दैवि राहत कोषमा जम्मा गरेको भौचर जिल्ला प्रशासनमा बुझाएका छन् ।