अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्जुनचौपारीको घुम्ती शिविर, पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

news

 
वालिङ, २४ भदौ । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पोखरामै घुम्ती शिविर सञ्चालन गरेर १६९ जना लाभग्राहीलाई सेवा दिएको छ । वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरी गाउँपालिकाले पोखरा पृथ्वीचोकस्थित होटल दीपज्योतिमा आइतबार र सोमबार दुई दिन शिविर सञ्चालन गरेको हो ।
शिविरबाट अर्जुनचौपारी–१ का ६, वडा नं. २ का ३६, वडा नं. ३ का २०, वडा नं. ४ का २३, वडा नं. ५ का २२ र वडा नं. ६ का ६० जनाले सेवा लिएका छन् । एक जनाको नयाँ दर्तासमेत गरिएको छ । भरतपुर–१७ स्थायी घर भई पोखरामा बस्दै आएका एक जनाले पनि शिविरबाट सेवा लिएका छन् ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सहज रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले पोखरामै पुगेर नवीकरणको व्यवस्था गरिएको बताउनुभयो । “वडाध्यक्षसहित पञ्जीकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेका हौँ,” तिवारीले भन्नुभयोे, “शारीरिक रूपमा अशक्त र वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो उद्देश्य हो ।”
गाउँपालिकाका अनुसार शिविर सञ्चालन भएपछि वडा कार्यालयमा हुने भीडसमेत कम गर्न सहयोग पुगेको छ । विशेषगरी पालिकाबाट टाढा बस्ने र आवतजावतमा कठिनाइ भएका लाभग्राहीलाई शिविरले सहजता दिएको छ ।
अर्जुनचौपारी–३ का ९३ वर्षीय चन्द्रबहादुर गुरुङले पोखरामै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताउनुभयो । पोखरामा बस्दै आएका अर्जुनचौपारी–१ का नरबहादुर क्षेत्रीले पनि आफू बसेकै ठाउँ नजिक शिविर सञ्चालन गरेर समयमै सेवा दिएकोमा खुसी व्यक्त गर्नुभयोे ।
भरतपुर–१७ स्थायी घर भई पोखरामा बस्दै आएका केशबहादुर गुरुङले पनि अर्जुनचौपारीको शिविरबाट सेवा लिन पाउँदा राहत भएको बताउनुभयो । भरतपुर पुग्न टाढा हुने अवस्थामा जिल्लाभन्दा बाहिर बसिरहेका अरु जिल्लाका नागरिकलाई समेत सहजीकरण गरेर सेवा दिनु सकारात्मक भएको उहांको भनाइ छ ।
जिल्लाका अन्य स्थानीय तहमा भने सामाजिक सुरक्षा भत्ता नवीकरणको काम वडा कार्यालयबाटै भइरहेको छ । भीरकोट नगरपालिका–७ ले भने आफ्ना वडाका लाभग्राहीहरुको घरघरमा पुगेर नवीकरणको काम गरेको वडाध्यक्ष ताराप्रसाद अर्यालले बताउनुभयो ।
स्याङ्जाका ११ वटै पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् । तर बैंक र स्थानीय तहबीचको समन्वय प्रभावकारी नहुँदा भत्ता लिन घण्टौँसम्म लाइनमा बस्नुपर्ने गुनासो लाभग्राहीले गर्दै आएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...