समाचार
पोखराको बुद्धचोकमा दुर्घटना हुँदा स्याङ्जाका युवकको मृत्यु
वालिङ, २४ भदौ ।
पोखराको बुद्धचोकस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट स्याङ्जाका मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ का २५ वर्षीय नवराज दर्जीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनापछि उपचारका लागि उहाँलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल, ट्रक र चालक सिन्धुली कमलामाई नगरपालिका–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
त्यस्तै पुतलीबजार र भीरकोट नगरपालिकाको सिमानास्थित हेलुमा बस र मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार बुधबार बिहान पुतलीबजार नगरपालिका–११ हेलुस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो । पोखराबाट वालिङतर्फ जाँदै गरेको लु १ ख ८४५४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प १८४२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गल्याङ नगरपालिका–११ का ४५ वर्षीय गोपालप्रसाद अर्याल घाइते हुनुभएको छ् । अर्यालको हाल मणिपाल अस्पताल पोखरा उपचार भईरहेको छ । दुवै सवारीसाधन र बस चालकलाई प्रहरी चौकी दहथुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।