समाचार
बाढीमा बेपत्ता तिलकको कुशको शव बनाएर अन्तिम संस्कार
वालिङ, २४ भदौ ।
भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्राविधिक स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ का तिलक रानाको कुशको प्रतीक (शव) बनाएर परिवारले अन्तिम संस्कार गरेका छन् । बाढीमा परी बेपत्ता भएको डेढ साता बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारजनले आफ्नो परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा प्राविधिक सहयोगीका रूपमा कार्यरत कालीगण्डकी गाउँपालिका–३ का तिलक बाढी आएको दिन अर्थात भदौ १० गतेबाट बेपत्ता हुनुभएको हो । बाढी आएको यतिका दिन बितिसक्दा र खोजी कार्यबाट पनि कुनै जानकारी नआएपछि परिवारले अन्तिम संस्कारका लागि कुशको शव बनाएर दाहसंस्कार गरेको वडाध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो ।
जीवितै भेटिने आशा मरेपछि कठोर निर्णय लिन बाध्य भएको र परम्पराअनुसार काजकिरिया सुरु गरिएको उहाँको भनाइ छ ।