समाचार
अर्जुनचौपारी ५ मा दुध संकलन डेरिको स्थापना
वालिङ, २४ भदौ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ मा रहेको डहरेदेउराली साना किसान कृषि सहकारी संस्थाले दुग्ध संकलन केन्द्र डेरीको सुभारम्भ गरेको छ । सहकारीले गाउँपालिकाको ५० प्रतिशत साझेदारीमा ५०० लिटर क्षमताको डेरि उद्योग संचालनमा ल्याएको हो । डेरि उद्योगको उद्दघाटन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गर्नुभएको थियो ।
उद्धाटनका अवसरमा अध्यक्ष तिवारीले किसानहरुले उत्पादन गर्नुभएको उपजहरुको बजारीकरणका लागि पालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै परम्परागत रुपमा भन्दा व्यवसायिक रुपमा पशुपालनमा लाग्नुपर्ने भन्दै व्यसायिकताले परिवारको आर्थिकस्तर वृद्धि गर्ने अध्यक्ष तिवारीले बताउनुभयो । व्यसायिक रुपमा पशुपालनमा लाग्न किसानहरुलाई आग्रह गर्दै घरमा खपत गर्न नसकिएका दुध, घ्युको बजारीकरणका लागि यो डेरि संचालनमा गाउँपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला भेटेरीनरी पशु कार्यालयका प्रमुख डा. रुपेश श्रेष्ठले डेरि सञ्चालनमा सरसफाई तथा आवश्यक सुझाव व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वडा अध्यक्ष बदिप्रसाद पौडेल, सहकारीका पुर्व बुद्धिप्रसाद खनाल, गाउँपालिका पशुसाखा प्रमुख डोराज गैह्रे, किसानहरुको तर्फबाट वडा सदस्य समेत रहनुभएका टेकनाथ खनाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष बुद्धबहादुर क्षेत्रिको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य लक्ष्मीप्रसाद सापकोटा र संचालन सहकारीका प्रबन्धक शान्ता रेग्मी पौडेलले गर्नुभएको थियो । सहकारीमा ७४४ जना सेयर सदस्य रहेका छन् । डेरि संचालनसंगै अब सहकारीले आफ्ना सदस्यहरुलाई पशुपालन गाई तथा भैँसीपालनमा आर्कषित गराउने योजना बनाएको छ ।