समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी
रेडियो आँधीखोला
वालिङ, २६ भदौ ।
भोटेकोषी बाढी प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठुलो जनधनको क्षति भएको छ । हजारौँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको छ । बाढी पिडितहरुका लागि स्याङ्जाबाट स्वर्तस्फुर्त रुपमा सहयोग गर्ने सहयोग बढेका छन् ।
नजिकिँदै गरेको तिजको कार्यक्रम स्थगित गरी महिला समूह, विभिन्न संघस्थाहरुले सहयोग गरेका छन् भने विद्यार्थीले खाजा खर्च कटाएर पिडितका लागि सहयोग गरेका छन् । बाढीप्रभावितहरूको उद्धार, राहत र पुनस्थापनाका लागि स्याङ्जाका अपाङ्गता भएका व्यक्तिहरूले मानवीय सहायता प्रदान गरेका छन्। विपद्को यस विषम घडीमा पीडित नागरिकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र–नेपाल, पुतलीबजार–१, स्याङ्जाको अगुवाइमा उक्त सहयोग जुटाएको हो।
संस्थाको तर्फबाट प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको छ । १९ जना अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरूबाट स्वेच्छाले संकलन गरिएको कुल रु. १६,४७० नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको संस्थाका अध्यक्ष युवराज पराजुलीले बताउनुभयो । वालिङ १० मा रहेको शिव पार्वती महिला समूहले पनि प्रधानमन्त्री दैवि उद्धार कोषमा रकम जममा गरेको छ। समूहले २० हजार १०५ रुपैँया कोषमा जम्मा गरेको समूहकी अध्यष जानुका पंगेनी गैह्रेले बताउनुभयो ।
त्यस्तै वालिङ १३ को डुबिनडाँडा बोटलाङ स्थित नवदुर्गा आमा समूहले पनि १५ हजार ११५ रुपैँया प्रधानमन्त्री दैवि उद्धार कोषमा जम्मा गरेको मेवाकला गैह्रेले बताउनुभयो । त्यस्तै गंगासागर आमा समूह वालिङ १४ ले पनि ११ हजार ५०० रकम कोषमा जम्मा गरेको समूहकी कोषाध्यक्ष भुमादेवि गौडेलले बताउनुभयो ।
त्यस्तै लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जाले समेत ११ हजार १११ राहत कोषमा जम्मा गरेको छ भने लोक कयाण समाज सुधार भुपू युथ क्लब पुतलीबजार ५ ले ३३ हजार ७५०, स्याङ्जा बजार खानेपानी उपभोक्ता समितिले ५ हजार, सर्केटारी बडाचौर दलित एकता समाज फेदिखोलाले १० हजार ५० रुपैँया राहत कोषमा जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बुझाएका छन् । त्यसतै भीरकोट १ स्थित करुङ बयरघारी मुस्लिम समाजले १ लाख ५० हजार, त्यस्तै भीरकोट ४ गैह्राथोकमा रहेको उपकार आमा समूहले १८ हजार २१०, भीरकोट २ को भारथान लुवाडाँडा टोलविकास संस्थाले ५५ हजार ५५५ रकम राहत कोषमा जम्मा गरेको छ ।
त्यस्तै विभिन्न संघसंस्था तथा सहयोगी दाताहरुले प्रदान गरेको जिन्सी सामान भीरकोट नगरपालिकाको समन्वयमा प्रभावित क्षेत्रमा पठाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कति सहयोगी दाताले सहयोग गरेको भौचर तथा जानकार प्रशासनलाई गराएका छन भने कतिपय सहयोगी दाताले स्वेच्छाले राहत कोषमा रकम जम्मा गरेका छन् ।