समाचार
स्याङ्जामा भदौ महिनामा २७ मुद्दा दर्ता, १४ जना पक्राउ र ९ वर्षभन्दा बढी कैद भुक्तान
रेडियो आँधीखोला
वालिङ, ३ असोज ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भदौ महिनामा सम्पादन गरेका अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा सामुदायिक प्रहरी सेवा सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (म्क्ए) रमेश दत्त अवस्थीका अनुसार भदौ महिनामा कुल २७ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने १४ जना प्रतिवादीहरू पक्राउ परेका छन् ।
पुराना र गम्भीर मुद्दामा समेत प्रहरीले सफलता प्राप्त गरेको जनाएको छ । २०६५ सालमा गर्भवती महिला सञ्जु लामिछाने रेग्मीलाई औषधि र सुई खुवाएर मारिएको घटनामा संलग्न प्रतिवादी शान्ति भण्डारीलाई अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको छ भने पार्वती भण्डारी ७५ हजार धरौटीमा छुट्नुभएको छ । त्यस्तै १६ वर्षीया बालिकालाई भारततर्फ बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न मुख्य आरोपी घनश्याम चौधरीलाई पुर्पक्षका लागि कारागार चालान गरेको छ ।
।
चोरी, डाँका, बाल यौन दुव्र्यवहार, लागूऔषध लगायतका विभिन्न मुद्दामा फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरिएको छ । उनीहरूबाट कुल ९ वर्ष १० महिना ७ दिन कैद र ६२ हजार ९४४ रुपैँया जरिवाना असुल गरिएको छ। अवैध रूपमा भन्सार छली ल्याइएका ओल्ड मङ्क रक्सी, पेट्रोल तथा अन्य सामग्री २ लाख ८९ हजार ७६० रुपैँया बराबरको सामान बरामद गरी कारबाहीका लागि भन्सार कार्यालय रूपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका ६ हजार ३ सय ७८ गाँजाका बोटहरु नष्ट गर्नुका साथै ५०७ लिटर अवैध घरेलु मदिरा पनि प्रहरीले नष्ट गरेको छ । भदौ महिनामा ६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ३ जनाको मृत्यु र २१ जना घाइते भएका छन्। सवारी चेकजाँचका क्रममा १ हजार ४२० वटा सवारी साधनलाई कारबाही गर्दा ११, लाख ३८ हजार राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपि अवस्थीले बताउनुभयो ।
प्रहरीले साइबर अपराध, महिला हिंसा, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण लगायतका विषयमा २३१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४ हजार ५८४ जना नागरिकलाई प्रशिक्षित गराएको छ । सेवाग्राहीलाई छिटो र सहज सेवा प्रदान गर्न जिल्ला प्रहरी कार्यालयमा ’युवामैत्री नागरिक सहायता कक्ष’ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।