समाचार
स्याङ्जाका ९७ वडाको अधिवेसन सकियो, अब पालिकाको तयारी
रेडियो आँधीखोला
वालिङ, ५ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जामा पहिलो चरणको वडा अधिवेशन सम्पन्न भएको छ । तोकिएकै समय शनिबार र आईतबार गरी यहाँका ९७ वडाको अधिवेसन सम्पन्न भएको नेपाली कांगे्रस जिल्ला सचिव दामोदर लम्सालले बताउनुभयो । शनिबार ८३ वटा वडामा अधिवेशन सम्पन्न भएका थिए भने आईतबार १४ वटा वडाको अधिवेशन सम्पन्न भएको हो । ९६ वटा वडाको सर्वसम्मतिबाट अधिवेसनले नयाँ नेतृत्व चयन गरेको उहाँले बताउनुभयो । वालिङ १३ मा भने मतदान प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । १४२ खसेकोमा १०० मत प्राप्त गरी वडा सभापतिमा इश्वरी गैह्रे चयन हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी राजकुमार गैह्रेले ४० मत ल्याउनुभएको हो । दुई जनाको उम्मेदवारी परेपछि सहमति गराउने प्रयास असफल भएपछि निर्वाचन भएको हो ।
संविधान दिवसको अवसर पारेर सुरु गरिएको अधिवेशन सर्वसम्मत वडा समिति चयन भएको नेपाली कांगे्रसले जनाएको छ । वडा अधिवेसनबाट क्षेत्रिय प्रतिनिधि समेत चयन भएका छन् । स्याङ्जामा नेपाली कांगे्रसको २९ हजार बढी क्रियाशिल सदस्य रहेका छन् । यहि अशोज ७ गते पालिका र १० गते प्रदेश तथा क्षेत्रिय अधिवेसन गरी नयाँ नेतृत्व चयन हुँदैछ ।
स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र चापाकोट गरी ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ पालिका रहेका छन् । यी ११ पालिकामा यहि अशोज ७ गते अधिवेसन हुँदैछ । यसपटकको अधिवेसनमा युवा तथा महिला पनि वडाको नेतृत्वमा आएका छन् भने क्षेत्रिय प्रतिनिधि चयनमा समेत युवालाई प्राथामिकता दिईएको जिल्ला सचिव लम्सालले बताउनुभयो ।