समाचार
स्मार्ट बोर्डबाट अध्ययन अध्यापन
वालिङ, ७ असोज ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा स्मार्ट बोर्डमा एआई प्रविधिबाट पढाउन थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा पालिकाभित्र रहेका विद्यालयमा कक्षा ८ देखिमाथिका कक्षामा स्मार्ट बोर्डमा पढाउन थालिएको हो ।
पालिकाले सङ्घीय सरकारको विशेष अनुदानमा उपलब्ध गराएको एक करोड ६५ लाख रुपियाँ मध्ये एक करोड चाल लाखमा स्मार्ट बोर्ड, प्रोजेक्टर, कम्प्युटर, प्रिन्टर र विद्युतीय हाजिरी मेसिन खरिद गरेर विद्यालयलाई दिइएको हो । पालिकाभित्र रहेका ११ वटा मावि र एक गुरुकुलम विद्याआश्रममा विद्यार्थीको अनुपातमा आवश्यकता अनुसार एक वटादेखि तीन वटासम्म गरी २६ वटा स्मार्ट बोर्ड प्रदान गरिएको हो ।
त्यसै गरी एक आधारभूत विद्यालय र सात माविमा एक÷एक वटा गरेर आठ वटा प्रोजेक्टर, नौ वटा आधारभूत विद्यालयमा एक÷एक वटा कम्प्युटर र सात वटा आविमा एक÷एक वटा प्रिन्टर पालिकाले दिएको बताइएको छ ।
पालिकाभित्र रहेका १९ वटा आवि, एक गुरुकुलम र ११ वटा मावि गरेर ३१ वटा विद्यालयलाई एक÷एक वटा विद्युतीय हाजिरी मेसिन प्रदान गरिएको हो । पालिका अध्यक्ष विश्वनाथ पौडेलले पालिकाभित्रका विद्यार्थीलाई नयाँ प्रविधिबाट पढाउने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरेको बताउनुभयो । समय, प्रविधि र सिद्धान्तसँग चल्न नसके विश्वबजारमा प्रतिस्पर्धा गर्न नसकिने बताउँदै पौडेलले गाउँपालिका अन्तर्गतका विद्यालयमा अबको सिकाइ एआई प्रविधियुक्त हुनु पर्छ भनेर डिजिटल सामग्री विद्यालयलाई प्रदानगरेको बताउनुभयो ।