समाचार
स्याङ्जामा अविरल वर्षाको जोखिमः सिद्धार्थ राजमार्ग र अन्य सडकहरूमा रात्रिकालिन सवारी सञ्चालनमा रोक
वालिङ, ९ असोज ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश सहित स्याङ्जा जिल्लामा भारी तथा अति भारी वर्षाको पूर्वानुमान गर्दै बाढी, पहिरो र डुबानको जोखिम औंल्याएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिद्धार्थ राजमार्ग र अन्य सहायक सडकहरूमा सवारी साधन सञ्चालनमा आंशिक रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार आज असोज ११ गतेसम्म सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सम्पूर्ण सवारी साधन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छैन।
त्यस्तै, सिद्धार्थ राजमार्ग बाहेकका अन्य शाखा सडकहरूमा भने साँझ ६ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पहिरो र बाढीको जोखिममा रहेका स्थानका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ। अति आवश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नुपरेमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ।