समाचार
बिरुवामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रेडियो आँधीखोला
वालिङ, १२ मंसिर ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८३ सुरु भएको छ । गाउँपालिकाको वडा नम्वर ८ मा रहेको मेथाभुरुङस्थित पुष्पमदन खेलमैदानमा आजदेखि आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८३ सुरु गरिएको हो ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित सुरु गरिएको प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले विद्यार्थीहरुको शैक्षिक गतिविधिको साथमा उनीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटनमा यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । गतवर्षको सातौं राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागी विद्यार्थीहरु जिल्ला हुँदै राष्ट्रिय स्तरको प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय छनोट खेलमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । यसरी पालिकाबाट जिल्ला, प्रदेश र राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गर्दै अध्यक्ष कुँवरले अनुशासित, मर्यादित र खेलको नीति नियम पालना गरेर आफ्नो प्रतिभा प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा गाउँपालिकाका ८ वडाका १० विद्यालयको सहभागिता रहेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः रु. ३०, २०, १५ र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, दौड, लङ्जम्प, त्रिपलजम्प, ठेलो फाल्ने, ज्याव्लिङ थ्रो लगायतका खेल हुनेछन् । बिभिन्न खेलमा प्राप्त अङ्कभारको आधारमा प्रतियोगीहरुको मूल्याङ्कन हुने छ । यहि मङ्सिर १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्थानीय खेलकुद विकास समितिको आयोजनामा भएको हो । स्थानीय भुरुङ चौकी माध्यमिक विद्यालयले प्रतियोगिताको संयोजन गरेको छ ।